दशैंका विविध आयाममध्ये शहर वा विदेश बसेका मानिसले हरेक वर्ष गर्ने गाउँको परिवर्तनको मूल्याङ्कन पनि एक हो । साथै लामो बिदाका कारण र दशैंको टीकाका कारण एकै मानिसले दुई वा बढी गाउँहरू बीचको विविध अनुभव र तुलना एकैसाथ गर्ने अवसर पनि हो ।
हुन त नेपालका कैयौं गाउँका धेरै घर खाली खाली रहन थालेका छन् । कैयौं गाउँका विद्यालयहरू विद्यार्थीको अभावमा बन्द भएका छन् भने मानिस भएका घरमध्ये पनि धेरै घरमा वृद्धवृद्धा मात्रै छन् भनेर धेरै जनाले धेरै ठाउँमा लेख्नुभएको तथा सार्वजनिक मञ्चमा बोल्नुभएको छ । यसपटक गाउँ जाँदा मलाई पनि एक किसिमको सन्नाटा जस्तो, एउटा खल्लोपन जस्तो, के के नपुगे जस्तो लागिरह्यो । गाउँमा रहँदा र गाउँबाट शहर फर्केपछि क्याम्पस तहमा शिक्षण गरिरहेका साथीहरूले सुनाएका कुराकानीमा आधारित भएर तयार गरिएको हो ।
वृद्धवृद्धा काममा, युवाहरू मोबाइलमा
गाउँमा निरन्तर बसिरहेका मानिसहरूले केही न केही खेतीपाती, बस्तुभाउको पालन गरिरहेका छन् । दशैं चाडबाडको समय मात्रै होइन खेती–बाली थन्क्याउने समय पनि हो । घरमा पालिरहेका बस्तुभाउलाई घाँस काट्ने काम त नेपालीका घरमा भात पकाउनु जस्तै नै हो ।
चाडबाडको बेलामा अरू बेलाको भन्दा काम धेरै हुन्छ, विशेषगरी घरभित्रको काम र त्यो घरभित्रको काममा महिलाहरू धेरै लाग्नुपर्ने पक्षको बारेमा पहिल्यै चर्चा गरिसकिएको छ । दशैंमा देखिए–भोगिएको अर्को एउटा विरक्तलाग्दो दृश्य हो– घरमा भएका युवाहरू (महिला पुरुष दुवै) मोबाइल, टिभीमा वा गफमा भुलिरहेको अनि वृद्ध भएका बा–आमा गोठ वा खेतबारीमा काम गरिरहेको ।
बाबियोको डोरी नबाटिनुको पछाडि बाबियो बाट्न जान्ने युवा पुस्ता कि विदेशमा छ, कि शहरबाट दुई–चार दिनको लागि मात्रै गाउँमा आउँछ । भएका पीङमा अब नाइलनका मोटा–मोटा डोरी प्रयोग गर्न थालिएको छ ।
छोराछोरीलाई आफूले जस्तो मेलापात, गोठ–गोबर, हिलो, धुलोमैलो खेलाउन नपरोस् भनेर हुर्काएका बा–आमाहरू दशैंमा छोराछोरी र उनीहरूको परिवार आए भनेर खुशी त देखिन्थे नै । साथसाथै, आफैंले गरिरहेको परिश्रमको क्षेत्रमा अर्को पुस्तालाई आउन रोकिरहेका पनि थिए । म पनि काम गर्छु भनेर अगाडि सर्ने अर्को पुस्तालाई, ‘तिमीहरू दुई दिन आएर गरिदिंदैमा हुने केही होइन’ भनेर पन्छाउने गरेको पाइन्छ । जसले गर्दा हातमा मोबाइल भएका मानिसहरू समय कटाउन सामाजिक सञ्जाल, गेममा भुलिरहेका भेटिन्थे ।
गाउँमा पीङ छैनन्, भएका पीङमा मानिस छैनन्
शहरमा बनाएका दशैंका विज्ञापन, पोस्टकार्डमा देखिने लिंगेपीङ पछिल्ला दशैंमा विस्तारै हराउँदै गएका छन् । टीकाको दिन काठमाडौंमा टीका लगाएर पूर्वी तराई र पहाडका जिल्लाहरूमा एकफन्को मारेर टीका थाप्दै हिंडेका मेरा एक जना साथी भन्छन्, ‘एक त गाउँमा पहिला जस्ता पीङ नै छैनन्, भएका पीङमा पनि पहिला जस्तो दशैंको समयमा मानिस झुम्मिएका, रमाइलो गरिरहेका थिएनन् । सातमध्ये एउटा गाउँमा मात्रै पीङ थिए र ती कुनै पीङ पनि बाबियो बाटेर बनाइएका थिएनन् ।’
लिङ्गे पीङ बनाउने क्रममा गाउँलेहरू मिलेर बाबियोको लट्ठा बाट्ने एउटा प्रमुख प्रक्रिया हो । यसले गाउँलेहरूलाई एकताको सूत्रमा मात्रै बाँध्ने नभई परम्परागत सीपको जगेर्ना, स्थानीय सामग्रीको प्रयोग र मानिसहरूको बीचमा सामूहिक भावनाको निर्माण गर्दथ्यो । मेरा एक साथीका अनुसार बाबियोका लट्ठा बाबियो नभएका कारण नबनाइएको भने होइन । उनी भन्छन्, ‘बाबियो नभएर होइन, बारीका डिलमा बाबियो झुलिरहेको छ, घाँस काट्ने क्रम कम भएका कारण पहिलाभन्दा बढी बाबियो गाउँमा छ ।’
भएको बाबियोको डोरी नबाटिनुको पछाडि बाबियो बाट्न जान्ने युवा पुस्ता कि विदेशमा छ, कि शहरबाट दुई चार दिनको लागि मात्रै गाउँमा आउँछ । भएका पीङमा अब नाइलनका मोटा–मोटा डोरी प्रयोग गर्न थालिएको छ । तिनै पीङमा पनि ‘दशैंको दिनमा एकै मिनेट भए पनि भुईं छोड्न पर्छ अरे’ भन्दै ठेलमठेल गरिरहने मानिसहरूको भीड छैन । पीङमा झुम्मिने, चिच्याउने, कराउने मानिसहरूको भीड कता गयो कता !
पहाडका गाउँमा लामो समयसम्म टिक्ने र विशेषगरी दशैंमा खल्पी बनाइने मादले काँक्राहरू हराएका छन् । सट्टामा छन् बजारमा बाह्रै महिना पाइने खिरा काँक्रो जसको ताजा अचार बनाउन त सकिन्छ तर बट्टामा राखेर अमिल्याउन मिल्दैन



